काठमाडौं, जेठ २५ – श्रम तथा रोजगार मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कारका लागि विदेशमा काम गरेर फर्केका सात जना छनोट गरेको छ । सबैभन्दा बढी अंक प्राप्त गर्ने उत्कृष्ट एक र बाँकी ६ वटा प्रदेशबाट ६ जना उद्यमी पुस्कारको लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर ६ बाट भने कसैले पनि आवेदन दिएनन् । मनकामना कार्डबोर्ड इण्डष्ट्रिज गंगोलिय १ रुपन्देहीका सूर्य प्रसाद न्यौपाने, हिमाली हिल एग्रिकल्च फर्म प्रावि चैनपुर ५ संखुवासभाका संजय शेर्पा, कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढ ७ बाराका सारोज कोइराला, सर्वाखास कृषि फार्म प्रालि दोलखाका पासाङतेन्जी शेर्पा उत्कृष्ट उद्यकी राष्ट्रिय पुरस्कारका लागि छनोट भएका हुन् ।
यस्तै, सिग्मा एण्ड सिजन तयारी पोशाक उद्योग र यूनिक तयारी पोशाक नवलपारसीका शालिकराम पुरी, आधुनिक कृषि तथा जडिबुटी व्यवसायिक उद्योग फर्म गुलरिया ७ बर्दियाका टोपलाल बिक र होटेल टाइम्स प्रालि, होटेल बडिमालिका गेष्टहाउस लजका सिद्धबहादुर शाही पुरस्कारका लागि छनोटमा परेका छन् ।
बाँकी १२ वटा फर्महरुमध्येबाट धेरै अंक प्राप्त गर्ने फ्रेस हाइजेनिक फुड मासु प्रशोधन केन्द्रका सञ्चालक नेपालगञ्जका दीपेन्द्रकुमार जोशी उद्यमी पुरस्कारको लागि सिफारिसमा परेका मन्त्रालयले जनाएको छ ।