Breaking

Monday, June 12, 2017

थकाली सेट

आश्विन ४, २०७० थकाली सेट
थकाली सेट आमनेपालीबीच लोकपि्रय छ। यो सेटमा सिमीको दाल, भात, साग, काउलीको तरकारी, गुन्द्रुकको अचार, गोलभेंडाको अचार, खसीको मासु, पापड आदि समावेश गरिन्छ। यसैगरी दही र घिउ पनि यो सेटको विशेषता हो। थकाली खानालाई एलिसले समय, परिस्थिति, मौसम आदिका दृष्टिले पनि परिमार्जित गरेको छ। एलिसमा उपलब्ध थकाली सेटमा सामान्य भातका साथै ग्राहकको रुचिअनुसार उसिना चामलको भात, फापरको रोटी तथा ढिंडो पनि उपलब्ध हुन्छ।

फापरको चिप्स

सामग्री

फापरको पिठो २ सय ग्राम, तेल तथा पानी आवश्यकताअनुसार।

विधि

एउटा भाँडोमा पानी उम्लिएपछि त्यसमा पिठो हाल्ने। पिठोलाई ढिंडो बनाए जसरी मस्काउने। पाकिसकेपछि हातले लाम्चो आकारमा बेर्ने। रोल गरिएको फापरको चिप्सलाई एउटा भाँडामा तेल तताएर फ्राई गर्ने। अब फापरको चिप्स तयार हुन्छ। यसलाई गोलभेंडाको अचारसँग खान सकिन्छ। दसैंमा मासु मात्र खानुभन्दा पनि नयाँ स्न्याक्सका रूपमा फापरको चिप्स खान सकिन्छ।

खसीको सुकुटी ग्रेभी

सामग्री

खसीको सुकाएको मासु १ सय ग्राम, गोलभेंडा एउटा, प्याज एउटा, खुर्सानीको धूलो थोरै, लसुनको पेस्ट अलिकति, मेथी, हरियो धनियाँ, जिराको धूलो, नुन र तोरीको तेल आवश्यकताअनुसार।

विधि

एउटा भाँडामा थोरै तेल तताउने। तेल खरिएपछि मेथी फुराउने। सुकुटी हाल्ने। सुकुटी हल्का फ्राई भएपछि लसुनको पेस्टलगायत सबै मसला मिसाउने। एकछिन पकाएपछि माथिबाट धनियाँ छर्कने। यसलाई दसैंमा स्न्याक्सका रूपमा खान सकिन्छ।

खसीको रगतको ससेज

सामग्री

खसीको रगत, ठूलो आन्द्रा, टिम्मुर एवं नुन-खुर्सानीको धूलो आवश्यकताअनुसार।

विधि

सबैभन्दा पहिले खसीको ताजा रगतलाई टिम्मुर, नुन तथा खुर्सानीको धूलो हालेर मोल्ने। त्यसपछि सफा गरेर राखिएको ठूलो आन्द्रामा भर्ने। एउटा भाँडामा पानी उमाल्ने। उम्लिएको पानीमा भरेको ठूलो आन्द्रा राखेर ५ मिनेटजति पकाउने। तत्कालै खाने हो भने ताबामा तेल हालेर एक मिनेटजति पकाउने। यसलाई केही दिनपछि खाने हो भने सेलाउन दिएर फ्रिजमा राख्न सकिन्छ। यो ससेज दसैंमा नयाँ परिकारका रूपमा प्रयोग गर्न सकिन्छ।

- लोकबहादुर राई, एलिस रेस्टुरेन्ट, गैर्‍हीधारा, थकाली सेफ