Breaking

Saturday, June 10, 2017

ढुंगामा घरपालुवा जनावर बनाएर करोडपति

जेष्ठ २७, २०७४- कसैले कुनै पनि अनौठो काम थाल्दा सुरुमा धेरैले दोहोर्‍याउने वाक्यांश हो ‘डुब्ने भए बिचारा’ । अझ हाँसोको पात्रसमेत बनाइन्छ । धेरैका लागि ती व्यक्ति केही दिन उडाउने सामग्रीसमेत बन्ने गर्छन् । तर, यी सबैलाई बेवास्ता गर्दै अगाडि बढ्ने व्यक्तिले नै बाजी जित्छ । मात्र समयको प्रतीक्षा गर्नुपर्छ । खासगरी व्यापार थाल्नेहरूको जीवनमा उतारचढाव अन्य पेसाको अपेक्षा तुलनात्मक रूपमा बढी नै हुने गर्छ ।

एकजना अमेरिकी नागरिकले थालेको व्यापारलाई सुरुमा कसैले पत्याएनन्, हाँसोमा उडाइदिए । त्यो स्वाभाविकै पनि थियो । किनभने तिनले नदी किनारमा पाइने ढुंगाबाट पैसा फलाउने सोच बनाएका थिए । हामीकहाँ ढुंगाको व्यापार निर्माण व्यावसायीहरूले गर्छन् । तर, अन्य पेसाकाले यो व्यापारमा हात हालेको विरलै भेटिन्छ । पेसाले विज्ञापन एजेन्सीका मालिक ग्यारी रोस दाहलले व्यापार त ढुंगाकै गरे तर यसमा आफ्नो सिर्जना र नयाँ सोचको सक्दो उपयोग गरे । सुरुमा साथीभाइले उनलाई ‘पागल’ समेत भन्न भ्याए । ग्यारी भने बिनालगानीको व्यापार गर्न कस्सिएपछि पछाडि फर्केर कहिल्यै हेरेनन् । किनभने उनले जे थाले त्यो अनौठो मात्रै थिएन, धेरैका लागि नयाँ सोच थियो । केही वर्षअघि टाइम पत्रिकाले ‘टप टेन क्रेजी बिजनेस आइडिया’ मा उनको नामसमेत समावेश गरेको थियो । पत्रिकाले सुरुमा धेरैले खिल्ली उडाएको व्यापार र उद्यमीको सफलतालाई आधार बनाएर सूची जारी गरेको हो । सूचीमा समावेश भएकाहरूको अवधारणा धेरैलाई आश्चर्यचकित बनाउने खाल थिए । अझ ग्यारी दाहल त धेरैका लागि प्रेरणाको स्रोत नै बन्न पुगे । किनभने उनले व्यापार थालेको छ महिनामै करोडपति बनेका थिए । उनको क्रेजी बिजनेस आइडिया थियो, ‘पेट रक’ अर्थात नदीका किनारमा भेटिने ढुंगामा घरपालुवा जनावरको आकृति बनाएर बेच्नु । यो सुनेर पक्कै तपाईलाई पनि हाँसो उठेकै हुनुपर्छ । तर, ग्यारीलाई त्यही व्यापारले सफल बनायो ।

 सन् १९७५ ताकाका कुरो हो, उनले यो व्यापार थालेका थिए । आफ्नो बसोबास स्थल नजिकै रहेको नदी किनार उनी दिनहुँ जाने गर्थे र फर्कंदा झोला भरी ढुंगाहरू बटुलेर ल्याउँथे । घरमा फिरेपछि तिनले खोलाबाट संकलन गरी ल्याएका ढुंगाहरूमा घरपालुवा जनावरहरूका आकृति बनाएर बिक्री गर्न थाले । आफ्ना उत्पादनहरू बजारमा पठाउनुअघि उनी आकर्षक प्याकिङ गर्थे । त्यसका लागि बाक्लो कार्डबोर्ड पेपरको बाकस पनि उनी आफैं बनाउँथे । यति मात्रै होइन, हरेक प्याकसँगै एउटा सबैले बुझ्ने भाषामा ‘इन्स्ट्रक्सन बुक’ पनि राखिदिने गर्थे । जसमा लेखिएको हुन्थ्यो, ‘पेट रक’ एउटा अनौठो खेलौना हो । यसलाई कहिले नुहाउने र कसरी विशेष कमान्ड सिकाउने भन्ने विषयहरू बुकमा लेखिएका थिए । यो उनको यो शैली बजारमा धेरैले मन मात्रै पराएनन्, खरिद गरेर घरमै लैजान थाले । उनको यो ‘क्रेजी आइडिया’ सफल भयो र रातारात उनी करोडपति बने । ग्यारी दाहल यो संसारमा छैनन् तर उनको ‘पेट रक’ व्यापार अझै पनि जीवितै छ । धेरै ठाउँमा बिक्रीका लागि उपलब्ध छन् ।
ग्यारीले यो व्यापार थाल्दाको प्रसंग पनि अलिक रोचकै छ । सन् १९७५ मा क्यालिफोर्नियामा उनी एक दिन आफ्ना साथीभाइहरूसँग गफगाफ गरिरहेका थिए । त्यसैक्रममा उनका एक मित्र पटक–पटक आफ्नो घरपालुवा जनावरबारे थरी–थरीका गुनासा गरिरहेका थिए । भनिरहेका थिए, ‘मेरो घरपालुवा जनावरले फोहर गर्छ, चकचके पनि बढी नै छ ।’ यो कुरा ती साथीबाट आइरहेकै बेला ग्यारीले अचानक मजाक गर्ने मुड बनाउन पुगे । उनले भनेका थिए, ‘मेरो घरपालुवा जनावर असाध्य ज्ञानी छ । किनभने त्यो एउटा ढुंगा हो, बद्मासी गर्ने कुरै भएन, त्यसैले सबैभन्दा राम्रो छ, मेरो ‘पेट रक’ । उनको कुरो सुनेर साथीहरू स्तब्ध बनेका थिए । केहीले त उनलाई ‘क्रेजी’ सम्म भन्न भ्याए । आफ्नै साथीबाट ‘क्रेजी’ को उपमा पाएपछि उनी मनमनै जंगिए र आफूले परिकल्पना गरेको ‘पेट रक’ बनाउनमा जुटेको सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसमा उनी थोरै समयमा सफल पनि भए । धेरै उच्च मार्जिनका कारण छोटो समयमै ग्यारी करोडपति बन्न भ्याए । ग्यारीको उत्पादन सन् १९७५ मा क्रिसमसभन्दा पहिले बजारमा आएको थियो । भनिन्छ, ‘व्यापारमा सही समयमा सही निर्णय गर्नुपर्छ ।’ हो, उनको यो निर्णय अत्यन्तै सुझबुझका साथ गरिएको थियो । त्यसैले त धेरै अमेरिकीले क्रिसमसका उपहारका रूपमा ग्यारीको ‘पेट रक’ खरिद गरेका थिए । आफ्ना उत्पादन उनले सन् १९७६ को फेब्रुअरीपछि बन्द गरे । अर्थात् ६ महिना मात्रै बजारमा उनका उत्पादन बिक्री भएका थिए । यो छ महिना अवधिमा ग्यारीले ४ डलरप्रति ‘पेट रक’ बिक्री गरेका थिए । यही मूल्यमा उनले १५ लाखजति उत्पादन बेचेका थिए । त्यो बेचेबापत ग्यारीले ६० लाख अमेरिकी डलर कमाउन सफल भएका थिए ।

सन् २०१२ मा उनको उत्पादन फेरि एकपटक बजारमा उतारियो । हाल एउटा ‘पेट रक’ को मूल्य २० अमेरिकी डलर रहेको छ । बिक्री बढेर आम्दानी पनि मनग्ये भएपछि ‘पेट रक’ लाई टाइम अखबारले टप १० क्रेजी खेलौनामा समावेश गरेको हो । टाइममा प्रकाशित लेखका अनुसार ‘पेट रक’ वास्तवमा एक प्रतिशत प्रोडक्ट थियो भने ९९ प्रतिशत मार्केटिङ । उनको यो शैली उद्यमीका लागि प्रेरणादायक हुन सक्छ । प्रोडक्ड जति राम्रो भए पनि मार्केटिङ राम्रो भएन भने कुनै पनि व्यापार उँभो लाग्न नसक्ने सिद्धान्तको नमुना उदाहरण पनि हो यो । वास्तवमा मार्केटिङ र प्याकेजिङकै कारण मानिसले ग्यारीको ‘पेट रक’ एउटा खेलौनाका रूपमा खरिद गरेका थिए । यसमा ‘ट्रेनिङ मोडयुल’ पनि ठूलो कुरो थियो । धेरैले ग्यारीको अवधारणा (कन्सेप्ट) लाई मन पराएका थिए । किनभने उनले आफ्नो ‘इन्स्ट्रक्सन बुक’ मा धेरै कुरा उल्लेख गरेका थिए । निर्जीव वस्तु अर्थात् ढुंगाबाटै उनको प्रजेन्टेसनले धेरैलाई मोहित बनायो । खोलाको ढुंगाका टुक्राहरूमा उनको क्रिएससन साँच्चिकै गजबको कन्सेप्ट थियो । हुन त उनको उत्पादनमा सबैभन्दा बढी लागत र मेहनत त्यसलाई प्याकिङ गर्न बनाइने आकर्षक बट्टामा परेको थियो । किनभने हरेक बट्टामा बनाइएका चित्रहरू धेरैलाई उत्पादन खरिद गर्न आकर्षण गरेको थियो । बट्टामा उनले माथि प्वालसमेत बनाइदिएका थिए । ‘पेट रक’ लाई श्वास लिन त्यो प्वालबाट हावा प्राप्त भइरहेको छ भन्ने देखाउन उनले त्यसो गरेका थिए ।

उनको अवधारणा सही भएकै कारण उत्पादनमा एक डलरभन्दा कम लाग्ने भए पनि चार डलरमा बिक्री गर्न सक्नु पनि एउटा खुबी नै थियो । हरेक ‘पेट रक’ मा ७५ प्रतिशतसम्म फाइदा हुन्थ्यो । एउटा कन्सेप्टकै कारण धेरै नाफा कमाउनुका कारण ग्यारीलाई उनका विरोधीले कानुनी कारबाही हुनुपर्ने मागसमेत गरे । यही कारण उनले आफ्नो कारोबारलाई अगाडि बढाउन चाहेनन् । पछि कमाएको रकमबाट उनले रेस्टुरेन्ट खोलेर कारोबार थाले । सन् २०१५ मा ग्यारीको मृत्यु भयो । हाल रक पेट ट्रेडमार्क रोजबड इन्टरटेनमेन्टसँग सुरक्षित छ ।