Breaking

Monday, June 12, 2017

नेपालीको कतार कर्म


जेष्ठ ३०, २०७४- साउदी अरबले नाकाबन्दी गरिदिएपछि कतार अहिले अप्ठयारोमा छ । रोजगारीका लागि त्यहाँ पुगेका नेपाली गरी खान पाऊँ भन्दै आवाज उठाइरहेका छन् । समाचारमा कतार छाइरहेका बेला आइतबार अनामनगरस्थित युनियन हाउसमा पनि मजदुरीका लागि कतार नै पुगेका नेपालीबारेको डकुमेन्ट्री प्रदर्शन गरियो ।

फिल्म क्रिटिक्स सोसाइटी (फिक्सन) को नियमित शृंखला ‘सन्डे सिनेमा’ मा यसपालि केसाङ छेतेन निर्देशित ‘द डेजर्ट इटस् अस’ देखाइएको हो । एक घण्टा ८ मिनेट लामो डकुमेन्ट्रीमा रेगिस्तानको गर्मीमा पसिना बगाइरहेका नेपालीको कथा–व्यथा हेर्न पाइन्छ । झन्डै एक दशकअघि खिचिएको फिल्मले खाडीमा काम गर्नेहरूको दु:ख, पीडा, हाँसो, उल्लास र उल्झन व्यक्त गरेको छ ।

डकुमेन्ट्री प्रदर्शनपश्चात् निर्देशक छेतेन, पत्रकार देवेन्द्र भट्टराई र होम कार्कीसँग संवाद गरिएको थियो । फिक्सन अध्यक्ष यज्ञशले वक्ताहरूलाई फिल्मकै सेरोफेरोमा रहेर वर्तमान अवस्थासँग पनि लिंक गराउँदै प्रश्न राखेका थिए । डकुमेन्ट्रीका प्रोटागोनिस्टसमेत रहेका पत्रकार भट्टराईले छायांकन गर्दाको अवस्था वर्णन गरे । ‘कतारमा यस्तो सुटिङ गर्न पाइँदैन,’ उनले भने, ‘अनुमतिबिनै खिचिएको थियो । आफन्तलाई भेट्न भन्दै हामी भेडीगोठ र नेपाली बस्ने क्याम्पहरू पुगेका थियौं ।’

कान्तिपुरको संवाददाताका रूपमा त्यो बेला कतारमा रहेका भट्टराईले आफूहरूलाई खुब सहयोग गरेको निर्देशक छेतेनले बताए । फिल्मको प्वाइन्ट अफ भ्यु खोजिरहँदा पत्रकारलाई नै न्यारेटर बनाउने जुक्ति फुरेको उनले स्मरण गरे । ‘लुकीछिपी खिच्नुपरेको थियो,’ उनले भने, ‘त्यसमाथि पत्रकारलाई लिएर हिँडेकाले डकुमेन्ट्री त रिपोर्टिङजस्तो होला भन्ने पीर थियो । तर, पत्रकारकै भ्युबाट डकुमेन्ट्री बनाए समस्या रहन्न भन्ने ठानेँ ।’

सन् २०१२ देखि २०१६ सम्म कतारबाटै समाचार संकलन गरेका कान्तिपुरकै अर्का पत्रकार होम कार्कीले डकुमेन्ट्रीमा देखाएभन्दा अहिलेको कतार भौतिक रूपमा निकै परिवर्तन भइसकेको अनुभव सेयर गरे । यद्यपि, नेपाली कामदारको अवस्था भने खासै नसुध्रिएको उनको भनाइ थियो । ‘मैले पनि डकुमेन्ट्री बनाऊँ कि भन्ने सोचेको थिएँ,’ उनले भने, ‘तर, यसमा जे देखाइएको छ, मेरो फिल्ममा त्यही दोहोरिन्छजस्तो लाग्यो ।’

पात्र फेरिए पनि अवस्था उस्तै रहेको कार्कीको विश्लेषण थियो । बरु, त्यो बेला एक लाखको हाराहारीमा नेपाली थिए भने अहिले संख्या बढेर चार लाख पुगेको उनले अवगत गराए । पारिश्रमिक बढाइएको, व्यक्तिगत रूपमा लगेर अलपत्र पारिने घटना कम भएको, नेपाली भाषामा उजुरी गर्न पाउने व्यवस्था मिलाइएको जस्ता सकारात्मक परिवर्तनबारे उनले बताए ।

‘सुधार भएको छ,’ कार्कीले भने, ‘तर, सम्बन्धित निकायसम्म कामदारको पहुँच पुग्न सकेको छैन ।’

कतारमा बसेर नेपालीहरूबारे समाचार लेख्दाको गाह्रो–साह्रोबारे पत्रकारद्वय बोलेका थिए । पीडा सुन्दासुन्दा कहिलेकाहीँ त आफैं थला पर्लाजस्तो हुने गरेको उनीहरूले बताए । ‘कतार भनेको एब्स्ट्रयाक पेन्टिङजस्तो छ,’ पत्रकार भट्टराईले भने, ‘बुझ्नै गाह्रो ।’ निर्देशक छेतेनले चाहिँ डकुमेन्ट्री नै आफ्नो रिसर्चको माध्यम भएको भन्दै यसमार्फत आफूले परदेशमा नेपालीलाई कस्तो ट्रिटमेन्ट गरिन्छ भन्ने देखाउन खोजेको बताए । ‘खाडी मुलुक जानु हाम्रो बाध्यता हो,’ उनले भने, ‘यहाँ हामीलाई न्यायोचित व्यवहार गरिँदैन ।’

सन् २०२२ को वल्र्ड कपका लागि स्टेडियम निर्माण गर्दा नेपाली कामदारको मृत्यु भएबारे द गार्जियनजस्ता ठूला सञ्चारमाध्यमले समाचार लेखेका थिए । यो कुराले सबैको ध्यानाकर्षण गरे पनि स्टेडियमभन्दा अन्य क्षेत्रमा समेत कार्यरत नेपालीको बर्सेनि ठूलो संख्यामा ज्यान गइरहेको बारे मानव अधिकारवादीसमेत मौन रहेको कार्की र भट्टराईको अनुभव छ । ‘हाम्रा असली मुद्दाहरू छायामा परेका छन्,’ उनीहरूको भनाइ थियो, ‘हाम्रो र विदेशीहरूको सरोकारको विषय नै अलग छ ।’

निर्देशक छेतेन वैदेशिक रोजगारीसम्बी अझै डकुमेन्ट्री वा फिचर फिल्म बनाउन चाहन्छन् । यस्ता विषय जटिल हुने भएकाले सोचविचार धेरै गर्नुपर्ने उनले बताए । ‘विषय नै कम्प्लेक्स हुन्छ,’ उनले भने, ‘नयाँ एङगल पत्ता लगाएर बनाउन मन छ ।’
source: ekantipur