Breaking

Tuesday, May 30, 2017

लागू औषध एडिक्ट टिनएजरबाट कलाकार विक्रम परियारको हत्या

जेष्ठ १६, २०७४-

१६ देखि १८ वर्षका ती युवायुवती लागूपदार्थको सेवनबाट लठ्ठ भएकाले हत्या गर्न तम्सिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । २४ घण्टा नबित्दै प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरिसकेको थियो ।

लागूपदार्थका एडिक्ट दुई युवती तथा चार जना युवाको समूहका केही सदस्यको ढुंगा आक्रमणबाट कलाकार विक्रम परियारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कलाकार विक्रम परियारको हत्या लागूपदार्थका एडिक्ट युवायुवतीहरूको समूहले गरेको रहस्य खुलेको छ । पहिलो चरणको स्थानीय निर्वाचनका लागि भोट खसाल्न गृह जिल्ला तनहुँ आएका ४४ वर्षीय विक्रम गत वैशाख ३१ गते आइतबार स्थानीय जलदेवी केन्द्रमा मतदान गरी साँझपख काठमाडौंबाटै मतदान गर्न आएका साथी देवीनारायण श्रेष्ठसँग बाइकमा घुम्दै सेती नदी किनार पुगेका थिए । भादगाउँको छाला फ्याक्ट्री नजिकै पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा उक्त घटना एउटा तस्बिरका कारण भएको देखिएको छ । कलाकारितामा रमाइरहेका विक्रम फोटोग्राफीका पनि सौखिन थिए । नदी किनार घुम्न निस्किएका परियारले त्यहाँका केही मनमोहक दृश्य आफ्नो क्यामेरामा कैद गरे । त्यही दुई जना युवती र चार जना युवाको टोली भेटियो । विक्रमले उनीहरूलाई आफ्नो फोटो खिचिदिन आग्रह गरे । उक्त समूहका एकजना युवा आएर विक्रमको फोटो खिचिदिए ।

युवायुवतीहरूको उक्त समूहलाई आफ्नो तस्बिर खिचिदिन आग्रह गर्नु नै विक्रमको हत्याको कारण बन्यो । ‘किन नचिनेको मान्छेको फोटो खिचिदिइस्’ भनेर उक्त समूहका अन्य सदस्यले फोटो खिचिदिने युवासँग विवाद गर्न थाले । आफ्नो फोटो खिचेपछि युवायुवतीको उक्त समूहमा विवाद बढेपछि विक्रम उनीहरूलाई सम्झाउन अघि बढे । ‘म नचिनेको मान्छे होइन, दाइ हो, मेरो घर पनि यही हो’ विक्रमले सम्झाए तर, विक्रमको भनाइ उनीहरूले सुनेको नसुन्यै मात्र गरेनन्, उनीहरू दुवै जनामाथि ढुंगा नै बर्साउन थाले । सम्झाइबुझाइ गरेको उनीहरूलाई मन नपरेपछि एक्कासि परियार र उनका साथी श्रेष्ठमाथि ढुंगा प्रहार भएको बताइन्छ ।
ती युवाले प्रहार गरेको ढुंगामध्ये एउटा ढुंगा विक्रमको टाउकोमा लाग्यो । टाउकोमा ढुंगा बजारिएपछि गम्भीर चोट लागेर परियार ढलेपछि उनीहरू त्यहाँबाट फरार भए । उक्त घटनामा विक्रमका साथी देवीनारायण पनि घाइते भए । घाइते अवस्थामा फेला परेका परियारलाई दमौलीस्थित रत्नहरी अस्पताल पुर्‍याउँदा साँझ साढे ५ बजे उनको मृत्यु भैसकेको थियो । घटनामा घाइते भएका ४३ वर्षीय देवीनारायण भने पोखरामा उपचार गराई घर फर्किएका छन् ।

घटनापछि कलाकार विक्रममाथि किन आक्रमण भयो र त्यसमा को–को संलग्न थिए ? भन्ने कुरामा प्रहरीले अनुसन्धान अगाडि बढायो । निर्वाचनको दिन तथा मतपेटिका सदरमुकाम ल्याउने समय भएकाले अप्रत्याशित रूपमा बढ्न सक्ने भीड नियन्त्रण गर्न कठिनाइ हुने आशंकाले प्रहरीले घटनालाई गोप्य राख्दै अनुसन्धान थाल्यो । मतपेटिका सदरमुकाम आइसकेलगत्तै प्रहरी अधिकांश अभियुक्तलाई पक्राउ गर्नसफल भयो । घटनामा संलग्न दुई युवतीलाई प्रहरीले देउराली नगरबाट पक्राउ गर्‍यो भने भागेका अन्य झापुटार र बेलवासबाट गिरफ्तार गरिए ।

१६ देखि १८ वर्षका ती युवायुवती लागूपदार्थको सेवनबाट लठ्ठ भएकाले हत्या गर्न तम्सिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । २४ घण्टा नबित्दै प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरिसकेको थियो । पक्राउ पर्नेमा व्यास–३ की १८ वर्षीया उषा थापा, १६ वर्षीया अञ्जली रानामगर, व्यास–१ की २० वर्षीया कान्छी भनिने रोशनचन्द ठकुरी, १७ वर्षीय मधुसूदन नेपाली, रञ्जन ठकुरी तथा १६ वर्षका प्रेम आले रहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् । उनीहरूलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । घटनास्थलबाट रगत लागेको ढुंगा फेला परेको र हत्यामा हतियार प्रयोग नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेकाहरूले पनि ढुंगा प्रहारबाटै हत्या गरेको स्विकार गरेका छन्,’ प्रहरी प्रमुख जोशी भन्छन्, ‘प्रहरी सक्रियताका कारण उनीहरू उम्किन पाएनन् ।’

पछिल्लो समय युवाहरूमा लागू पदार्थ दुव्र्यसन बढिरहेको छ । उक्त दुव्र्यसननै कारण बन्यो कलाकार परियारको मृत्यु । प्रहरीले भने तुलनात्मक रूपमा दुव्र्यसन कम भैरहेको दाबी गरेको छ । ‘नहुनुपर्ने घटना भयो, तर एक वर्षअघिको तुलनामा अहिले यस्ता जघन्य अपराधका घटना कम भएका छन्, दुव्र्यसनीलाई नियन्त्रण गर्न सकिएको छ,’ जोशी भन्छन्, ‘पछिल्लो ६ महिनामा फरार अपराधि शुन्य भएका छन् भने अधिकांश हतियारधारी दुव्र्यसनी पनि पक्राउ परिसकेका छन् ।’

को हुन् विक्रम परियार ?
करिब १२ वर्षअघि नवीन सुब्बाको निर्देशनमा निर्मित टेलिश्रृंखला ‘दलन’ को ‘कास्टिङ डाइरेक्टर’ (कलाकार छान्ने निर्देशक) थिए— अनुप बराल । संगीतकर्मीका रूपमा सक्रिय विक्रम परियार उक्त टेलिश्रृंखलामा अभिनय गर्न अडिसन आएका थिए । उक्त टेलिश्रृंखलामा दिया मास्केको दाजुको भूमिका निर्वाह गर्न थालेपछि गायक तथा संगीतकार विक्रम परियार अभियनतर्फ आकर्षित भएका हुन् । अनुपसँगको निकटताका कारण अनुपले उनलाई आफैंद्वारा सञ्चालित एक्टर्स स्टुडियोमा अभिनयको प्रशिक्षण लिने विद्यार्थीलाई संगीत तथा गायनको प्रशिक्षण दिने गुरुका रूपमा आबद्ध गराए ।

अनुप बरालद्वारा निर्देशित नाटक ‘कोर्ट मार्सल’ मार्फत चिनिएका कलाकार परियारले बरालद्वारा नै निर्देशित चलचित्र ‘फिटकिरी’ मा पनि अभिनय गरेका थिए । यसबाहेक उनले ‘ताण्डव’, ‘कुसुमे रुमाल’, ‘काठमाडौं: द मिरर इन द स्काई’ आदि चलचित्रमा समेत अभिनय गरे । त्यसक्रममा क्रममा विक्रमले टलकजंग भर्सेस टुल्के, मलामी, काली आइमाईसहित दर्जनौं नाटकमा आफ्नो कला देखाए । विक्रमले एक्टर्स स्टुडियोबाहेक नेसनल एक्टिङ कम्पिटिसन, थिएटर भिलेज, मण्डला थिएटर तथा ओस्कार फिल्म कलेजमासमेत संगीत एवं स्वरको अध्यापन गरेका थिए । परियार विभिन्न जातजातिका लवज र चरित्र दुरुस्तै उतार्न सक्थे ।

विक्रम परियारको स्मरण गर्दै अनुप बरालले भनेका छन्— ‘थिएटरको संगीत के हो भन्ने कुरा बुझेर संगीत रचना गर्न सक्ने खुबी उहाँमा थियो । स्वभाव शान्त भए पनि उनमा थिएटर र संगीतमै केही गरौं भन्ने छटपटी जहिल्यै उस्तै देखिन्थ्यो । त्यति मात्र नभै उहाँ एकदमै पारिवारिक व्यक्ति हुनुहुन्थ्यो । श्रीमती र बालबच्चाको खुसीका लागि मरिमेट्नु हुन्थ्यो । छोरा–छोरीलाई समेत संगीत पढाउन उहाँले निकै मेहनत गर्नुभएको छ ।’

शोकमग्न गाउँ
कलाकार परियारको हत्यापछि उनको गाउँ शोकमग्न भयो । असल चरित्रका व्यक्ति भएकाले उनको शवयात्रामा सहभागी सबैका आँखा रसाएका थिए भने कतिपय त डाँको छाडेर रोएको देख्न सकिन्थ्यो । गाउँमा कम बस्ने विक्रम निर्वाचनमा मतदान गर्न काठमाडौंबाट तनहुँ आएका थिए ।

प्रकाशित :जेष्ठ १६, २०७४