भाेजपूर । सुर्खेतबाट सेनाको रासन बोकेर हुम्लाको सिमीकोट पुगेको एनए ४८ कल साइनको सैनिक हवाईजहाज त्यहाँको मौसम खराब भएकाले मंगलबार दिउँसो साढे १२ बजेतिर बाजुराको कोल्टीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा हवाईजहाजचालक महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । कैलाशको मृत्यु भएको दुःखद समाचार सञ्चारमाध्यममा आएसँगै कैलाशका बालसखा आत्मीय साथी हरि राई स्तब्ध भए।
सामाजिक सञ्जालमार्फत अचानक यो खबर थाहा पाउँदा उनले बालापन सम्झिए। ‘आज मैले मेरो असल र प्यारो साथी गुमाएको छु’, भावुकतामा डुब्दै उनले भने, ‘लेखान्तले कहाँ पुर्याउँदो रहेछ, सपनाजस्तै लागिरहेको छ, उसले उडाएको जहाज क्र्यास भएको ।’ हरि अहिले एमाले केन्द्रीय सदस्य हुन्। उनी यो दुःखद समाचार थाहा पाउँदा स्थानीय तहको चुनाव प्रचारप्रसारमा व्यस्त थिए। भोजपुरको पश्चिमी ट्याम्के मैयुम गाउँपालिका-२, छिनामखुको घोडेनागी नौलेगाउँमा जन्मिएका कैलाश सानैदेखि मिहिनेती थिए। साथीभाइसँग मीठो बोल्ने उनी नराम्रा प्रवृत्तिबाट सधैं टाढा रहे।
२०२७ सालमा भूपू ब्रिटिस गोर्खा आर्मी नरबहादुर गुरुङको माइलो सन्तानको रुपमा जन्मिएका कैलाशका एक दाजु, दुई भाइ र चार दिदीबहिनी छन् । कैलाशलाई पनि बाबुजस्तै आर्मी हुने रहर थियो उनी सानैदेखि मिहिनेती र पढाइमा तेज रहेको उनका साथीभाइहरू भन्छन्। उनले धनकुटा-हिले हुँदै चतराबाट नुनको भारी पनि बोकेका थिए।घरबाट किताब-कापी च्यापेर, सामान्य सर्ट कट्टु र बकुला छाप फित्ते चप्पल लगाएर २/३ घन्टा लामो बाटो हिँडेर विद्यालय धाउने गरेको हरि सम्झिन्छन्। ‘हामीसँगै एउटै कक्षामा पढ्दा उनले कहिल्यै कसैलाई बिझ्ने केही भनेनन्, न त झैझगडा नै गरे ।
साथीभाइसँग साह्रै मिल्थे’, हरिले सम्झिए, ‘उनी अन्नपूर्ण माविबाटै ०४३ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौं गए । त्यहाँ उनले प्राविधिक शिक्षा अध्ययन र उत्तीर्ण गरी सेनामा भर्ती भए।’ प्रतिभाशाली कैलाशको गीत/संगीतमा पनि गहिरो लगाव थियो । उनले धेरै गीतमा संगीत भरेका छन् भने गीत पनि लेखेका छन्। एकान्त मन पराउने उनी गीत गुनगुनाइरहने हरिले बताए। करिब १० वर्षअघि भोजपुर जिल्लामा पहिलो पटक सेनाको हेलिकोप्टरबाट ल्यान्डरोभर गाडी लगिएको थियो ।
सुवास नेम्वाङ सभामुख भएका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको समन्वयमा क्याप्टेन कैलाशले नै गाडी हेलिकोप्टरबाट भोजपुर लगेका थिए। उनी आफ्नो जिल्लामा पहिलोपटक कच्ची सडकमा गाडी ल्याएर भोजपुरे जनतालाई यातायातको सुविधा अनुभूति गराउने पहिलो व्यक्ति हुन्। त्यसबेला उनी नेपाली सेनाको मेजर थिए। कैलाशको परिवार करिब १९ वर्षअघि नै गाउँको घरजग्गा बेचेर काठमाडौं बसाइ सरेका थिए।
एकै सातामा दुई सपुत गुमाउँदा सिंगो भोजपुरे यतिबेला शोकमा छन् । सफल, कर्तव्यनिष्ठ व्यक्तित्व गुमाएकोमा भोजपुर जिल्ला शोकसन्तप्त भएको स्थानीय भोला राईले बताए। ‘यो साता भोजपुरले शनिबार साङपाङमा जन्मिएका वरिष्ठ क्याप्टेन पारसकुमार राई र मंगलबार छिनामखुमा जन्मिएका सेनाका महासेनानी क्याप्टेन कैलाश गुरुङजस्ता व्यक्तित्व गुमाएकोमा हामी सम्पूर्ण भोजपुरवासी शोकमा छौँ’, उनले गहिरो वेदनायुक्त शब्दमा भने।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।
Tuesday, May 30, 2017
कैलाशको शोकमा डुब्यो भोजपुर
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News

