बाजुरा, वैशाख १४ – बाजुरामा दोस्रो चरणको चुनावको चहलपहल बढेपनि बाजुराको सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका– ३ गुम्बा भने सुनसान छ । चिसो छल्न बेसी गएका मतदाता ढिलो गरी गाउँ फर्किए पनि मतदाता शिक्षा कार्यकर्ता र राजनीतिक दलका कार्यकर्ता भने गाउँ पुग्न सकेका छैनन् ।
मतदातालाई चुनावमा भोट हाल्न भन्दा पनि भेडा बाख्रा चरन क्षेत्रमा लान र ल्याउन हतारो छ । बाँकी रहेको समय घरको काम गर्दैमा ठिक्क छ । चुनावमा भोट हाल्ने बारे जानकारी नपाएका उनीहरुलाई भोट हाल्न सिकाउन राजनीतिक दलका कार्यकर्ता र निर्वाचन कार्यालयबाट खटिएका मतदाता शिक्षा कार्यकर्ता पनि गाउँ पुगेका छैनन् । चुनावमा कसरी भोट हाल्ने भन्ने बारेमा मतदाता अन्यौलमा छन् ।
लाम्पाटा र गुम्बा गाउँमा २६ परिवार बसोवास गर्छन् । उनीहरुको मतदान केन्द्र गंगा आधारभूत विद्यालय बौडीमा तोकिएको छ । लाम्पाटा र गुम्बा गाउँबाट मतदान केन्द्र पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यति लामो बाटो हिँडेर भोट हाल्न गएपनि भोट कसरी हाल्ने भन्ने बारे नागरिक अन्यौलमा छन् ।
‘माननीयको चुनावमा भोट हाल्न गईँन । यो चुनावमा कसरी भोट दिने हो ? कसैले सिकाएका छैनन् ’ स्थानीय बासिन्दा छिरिङ्ग घोर्चे लामाले भन्नुभयो । गुम्बा गाउँमा ३० जना मतदाता छन् । ८ महिला र २२ पुरुषको मतदाता सूचिमा नाम छ । तर उनीहरुले भोट कसरी हाल्ने अहिलेसम्म पत्तो पाएका छैनन् ।
जिल्लाका नगरपालिका र अन्य गाउँपालिकामा समेत मतदाता शिक्षा दिइएको देखिएको छैन । राजनीतिक दलले समेत चुनावी गतिविधि सञ्चालन गरेका छैनन् । अहिले सम्म उम्मेद्वारको टुङ्गो लागेको छैन । पार्टीबाट उम्मेद्वारको टुङ्गो नलाग्दा चुनावी माहोल पनि बन्न सकेको छैन । ‘यहाँ हामीलाई हातमुख जोड्नै समस्या छ, भोट कसरी हाल्ने भन्ने पछिको कुरा हो’ स्वामीकार्तिक गाउँपालिका–४ का वीरबहादुर भियालले भन्नुभयो ।
समस्या बढ्यो, चुनावको गतिविधि बढेन
स्वामीकार्तिका गाउँपालिकाको कर्णालीको नदीको तिरमा भेला भएका मानिस चुनावी प्रसार प्रचारका लागि हो जस्तो लागे पनि राहत स्वरुप आएको चामल पाउनका लागि सडक खनिरहेका स्थानीय बासिन्दा थिए ।
उनीहरुलाई पनि चुनाव भन्दा खानाकै समस्या चर्को छ । ‘चुनाव एक दिनको हो, बाँच्नका लागि खाना चाहिन्छ’ बेल्चा समातेर बाटो खनिरहनुभएकी पाटकला बुढाले भन्नुभयो ।
दोस्रो चरणको चुनाव हुन्छ की हुँदैन भन्ने अन्योल भएकोले पनि गाउँमा चुनावी चहलपहल नभएको हो । गाउँमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले समेत आफ्नो काम प्रभावकारी रुपमा अगाडि बढाउन सकेका छैनन् ।
स्थानीय बासिन्दालाई चुनाव चिन्हमा छाप कसरी लगाउने र कसरी भोट खसाल्ने भन्नेबारेमा शिक्षा नदिने हो भने दुर्गम क्षेत्रमा बदर मतको संख्या घटाउन सकिने अवस्था छैन ।
बाजुरा जिल्लामा ६९ मतदान स्थल गरिएको छ भने ९१ वटा मतदान केन्द्र तोकिएका छन् । एक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा कार्यक्रता खटाएको र गएको शुक्रबारबाट नियमित काममा लाग्न पत्रचार गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर थापाले जानकारी दिनुभयो ।