Breaking

Friday, June 9, 2017

झुक्याएर जग्गाको राजीनामा पास

जेष्ठ २६, २०७४- नागरिकता बनाउन सदरमुकाम आएका ५३ वर्षीय घले कुमालले घर फर्किएपछि मात्र थाहा पाए– आफ्नो लालपुर्जामा भएको जग्गा अर्कैको नाममा पास भइसकेको रहेछ। लालपुर्जामा रातो चिह्नको घेरा देखिपछि नागरिकता बनाउन सहयोग गर्न सदरमुकाम लैजाने छिमेकीले नै जग्गा पास परेको रहस्य खुल्यो।

पालुङटार–८ धुवाँकोटका कुमाल, पत्नी, आफन्त र सहयोगीसहित बुधबार जिल्ला प्रशासन कार्यालय आए। प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिए। उनले दिएको निवेदनमा छिमेकीले झुक्याएर सहीछाप गराई जग्गा पास गराएको उल्लेख छ। उनको उजुरीमाथि छानबिन गर्न प्रजिअ जितेन्द्र बस्नतेले प्रहरीलाई निर्देशन दिएका छन्। घटनामा गत जेठ २ को हो।

कुमाललाई छिमेकी रामचन्द्र अर्यालले नागरिकता बनाउन भन्दै सदरमुकाम ल्याए। वैशाख ३१ को चुनावमा भोट हाल्न नपाएका उनी नागरिकता बन्ने कुराले फुरुक्क हँुदै अर्यालको मोटरसाइकल चढेर गोरखा आए। नागरिकता बन्यो। अर्याल र उनका बहिनीज्वाइँ विष्णु सिग्देलले उनलाई विभिन्न कागजमा सहीछाप गर्न लगाए। ‘नागरिकता बनाउन लालपुर्जा पनि चाहिन्छ भनेर मागे,’ उनले भने, ‘मैले उनीहरूलाई पुर्जा दिएँ।’ नागरिकता लिएर उनी घर फिरे।

फर्किएको भोलिपल्ट मात्रै उनीहरूले कुमाललाई लालपुर्जा फिर्ता दिए। २ कक्षा मात्रै पढेकी उनकी छोरीले लालपुर्जा हेरिन् र जग्गा बिक्री भएको जस्तो शंका गरिन्। बाहिर निस्केर गाउँका अलि जान्नेलाई देखाइन्। पुर्जामा भएको २ रोपनी ३ आना जग्गा मालपोत कार्यालय गोरखाबाट जेठ ३ गते राजीनामा पास भएको देखियो। जग्गा पास निस्सामा ८ लाखमा जग्गा किन–बेच भएको उल्लेख छ। स्थानीय अगुवाहरूको अनुसार चलनचल्तीमा भने त्यहाँको प्रतिरोपनी जग्गाको मुख्य साढे २ लाख रुपैयाँ छ।

‘सहीछाप गर्ने बेलामा पैसा पाउनुभयो भनेर सोधे,’ कुमालले भने, ‘मैले पाएँ भनें, झुक्काएर जग्गै पो पास गरेछन्।’ घले पढालेखा होइनन्। सिग्देलले घलेलाई नागरिकता बनाउने खर्च भनेर बाटोमा ६ हजार दिएका थिए। ‘साह्रै सोझो र लाटो मान्छेलाई फसाएछन्,’ स्थानीय विष्णु पौडेलले भने, ‘घले गाउँमा भरिया काम गर्छन्, राम्रोसँग बोल्न पनि जान्दैनन्।’

कुमाललाई कुन ठाउँमा आएर नागरिकता बनाएको त्यो दिन कुन/कुन ठाउँमा गएको पनि पत्तो छैन। नागरिकता बनाउने दिन उनी जीवनमै पहिलोचोटी सदरमुकाम आएका थिए। ‘शेराको बाटो घुमाएर ल्याए, जग्गा पास गर्नु पो रहेछ,’ उनले भने। गोरखा आउने सोझो र छोटो बाटो तनहुँको सत्रसय भए पनि घुमाएर शेरा हँुदै ल्याइएको उनले बताए।

पूर्वगाविस सचिव स्थानीय नारायणबाबु अर्यालले छोरा रामचन्द्र र छोरीज्वाइँ सिग्देललाई सिकाएर किर्ते गरी जग्गापास गरिएको कुमाल परिवारको ठम्याइ छ। सिग्देलको नाममा जग्गा पास भएको पुर्जा बनिसकेको छ। लेखनदास प्रवीन श्रेष्ठ, रामशरण अर्याल, सोमप्रसाद रेग्मी र कुमालको अर्की विवाहिता छोरी प्रमिला कुमाल जग्गापासको साक्षी बनेको उल्लेख छ। प्रमिला पनि लेखपढ जान्दिनन्। घलेले छोरीलाई कागजमा सहीछाप गर्ने बेलामा सदरमुकाममै भेटेका थिए। ‘काठमाडौंमा घर भएकी छोरी नागरिकता बनाउन भनेर आएकी रहिछ,’ उनले भने, ‘मलाई अरू कुरा थाहा भएन।’

आफूले मदिरा नखाएको र होसमै हुँदा पनि लेखपढ गर्न नजान्दा झुक्याएर जग्गा पास गरिएको
कुमालको गुनासो छ। पत्नी र दाजु लिएर उनी प्रशासनमा उजुरी गर्न आउँदा भेटिएका हुन्। दाजु सन्तबहादुरले भने, ‘दाजुभाइको जग्गा एकैठाउँमा छ हामीलाई थाहै नभई भाइको जग्गा पास भइसकेछ।’ अशिक्षित भाइलाई झुक्याएर सहीछाप गर्न लगाई जग्गा पास गरिएको उनले बताए। नारायणबाबुले सचिव हुँदादेखि नै उक्त जग्गा किन्न खोजेको उनको भनाइ छ।

झुक्याएर जग्गा लिएको आरोप लागेका विष्णु सिग्देलले भने उनीहरूको पारिवारिक सल्लाहमै जग्गा किनेको दाबी गरेका छन्। घले कुमालकी कान्छी छोरी प्रमिला कुमाललाई नगद ८ लाख दिएको उनको भनाइ छ। ‘उनीहरूको घरझगडाले कुरा मिलेन होला, मैले जग्गा पैसा दिएर किनेको हुँ,’ उनले भने। प्रजिअ बस्नेतले जग्गा पासबारे छानबिन गरिने बताए।