काठमाडौं, जेठ २२ – रंगिचंगी लुगा, हातमा चुरा, कपाल बाँध्ने रातो फुर्के धागो सबै किनिदिएका थिए । नयाँ लुगा लगाउन पाएपछि रामेछापको बेतालीकी मनमाया सुनुवार ‘निर्मला’लाई कम्ता खुसी लागेन् ।
मनमाया त्यो दिन बेहुली हुनु भएको थियो । तर आफू बेहुली भएकोमा भन्दा पनि नयाँ लुगा पाएको मख्ख पर्नुभयो । मनमायालाई विहे भयो जस्तो नै लागेन ।
चिनजान भएको केही समयमा नै यति धेरै नयाँ लुगा र सामान किनिदिने मान्छे उहाँलाई राम्रा होलान् भन्ने लाग्यो । १६ वर्षमा बेहुली बनेकी मनमाया १७ वर्षमा आमा बन्नुभयो ।
नयाँ लुगा पाउँदा पनि रम्ने उमेरकी मनमायाको जीवनमा सँगै खेल्ने छोरा जन्मिए । घरपरिवार चलेकै थियो । श्रीमानले भारत गएर जागिर गर्ने भनेपछि छोरा च्यापेर श्रीमान् सँगै भारत जानुभयो । भारतमा श्रीमान र मनमाया घरको काम गर्नुहुन्थ्यो ।
तर केही समय पछि नेपाल नै फर्कनुभयो । त्यसपछि उहाँका श्रीमान् कतार गए । मनमायाका श्रीमान् रामकुमार कतार गएको ३ वर्ष भयो । श्रीमानले विदेशमा दुईचार पैसा कमाए छोराछोरीको भविष्य राम्रो होला भन्ठानेर उहाँले ऋण काढेर श्रीमानलाई विदेश पठाउनु भएको थियो ।
विदेश गएका श्रीमानको फोन कहिल्यै आएनन । विहे गर्दा धेरै माया गर्छु, तिमीलाई पाल्छु भन्दै राम्रा लुगा दिएर विहे गरेका श्रीमानले हिजोआज मनमायाको माया मारेका छन् ।
तिम्रा लागि सुन र छोराछोरीको भविष्य बोकेर आउँछु भनेर जहाज चढेका श्रीमानका लक्ष्य र उद्देश्य अचेलभोली फेरिए झैं लाग्छ मनमायालाई । ‘विदेश त ठूलो शहर मात्र हैन्, मान्छेलाई मोहनी लगाउने जादु पो रहेछ’ मनमायाले ठट्यौली पारामा भन्नुभयो ।
छोरो टुकुटुकु हिड्ने भएपनि बाबा भन्न नसक्ने छोरी छाडेर परदेशिएका श्रीमान् छोराछोरीको गाँस बिर्सिएर रमेको देख्दा मनमायालाई रातमा निन्द्रा पर्दैन ।मनमायालाई छिमेकीले फेसबुकमा हेरेर तेरो बुढा त यस्तो त्यस्तो भनेर सुनाउँदा झनै नरमाइलो लाग्छ । ‘मैंले त पढेको छैन, फेसबुक पनि चलाउन जान्दिन । पल्लो घरकाले सुनाएको फेसबुकमा लामो लामो चुरोट खाको फोटो हालेको छ रे’ श्रीमानले फेसबुकमा राखेको फोटोको बारेमा छिमेकीले सुनाएको कुरा मनमायाले सुनाउनुभयो ।
उहाँको थाप्लोमा घरव्यवहार र छोरा छोरीको शिक्षा सबै छ । नङ्ग्रा खियाएर खाउँ भन्दा पनि एक बिहानको मेलो बारी छ । आफ्नो बारीको उब्जनीले दुई महिना पनि खान पुग्दैन् । त्यो पनि साहुले हामी जोत्छौं तिमि उठेर जाउ नभनेको दिन हुदैन ।
‘बुढो विदेश जाँदा काढेको सावाँ मात्र चार लाख रुपैयाँ छ, पसलबाट चामल उधारो झिकेको ५० हजार जति भयो होला । खै कसरी खुवाउनु छोराछोरीलाई’ दिक्क मान्दै मनमायाले भन्नुभयो ।
उहाँलाई साहुले कुन बैंकमा पैसा राखेको छ भन्दै सोध्छन् । गाउँका अरु धेरै पनि यस्तै भन्छन् । श्रीमानले विदेशबाट पैसा पठाएर बैंकमा राखेको देख्ने समाजले श्रीमानको कमाइ बिना नै छोराछोरीको पेट भर्न कति गाह्रो छ भन्ने कुरा कसरी बुझ्थ्यो ।
पसलेले पनि हिजोआज उधारो सामान दिन छाडेका छन् । मनमायाले भूकम्पपछि गाउँमा गिट्टी कुट्ने काम गरेर बिहान बेलुका चुलो बाल्नुभएको छ । बेला बेला मेलापात पनि जानुहुन्छ । त्यसरी कमाएको पैसाले छोराछोरीलाई कापी कलम किन्दिनु हुन्छ ।
अरुका छोराछोरी बोर्डिङ स्कुल पढेको देख्दा उहाँलाई पनि टाई लगाएर छोराछोरीलाई स्कुल पठाउने रहर लाग्छ । ‘छोरीको पढाई राम्रो छ के गर्नु भनेको बेला च्यातिएको ड्रेस पनि फेरिदिन सकेको छुईन्’ मनमाया भन्नुभयो, ‘मैंले एउटा व्यापार गर्न मात्र पाए छोरी पढाउँथे, तर के गर्नु घर नै ऋणमा डुबेको छ ।’
मनमाया छोरालाई इन्जिनियर बनाउन चाहनु हुन्छ । छोरीलाई पढाउनु पर्छ भन्ने उहाँलाई लागेको छ । अक्षर नचिन्दा श्रीमानले पैसा पनि गन्न आउँदैन भनेर गरेको गालीले उहाँलाई छोरीलाई पढाउनु पर्छ भन्ने लाग्छ । ‘मैले सुनेको राष्ट्रपति पनि महिला छन रे । अब देशमा महिला मन्त्रीको खाँचो छ, म मेरो छोरीलाई प्रधानमन्त्री बनाउछु’ उहाँले आफ्नो छोरीप्रतिको सपना सुनाउनु भयो ।
श्रीमानले पनि हेला गरेकी भनेर गाउँका र आफ्नैले गर्ने व्यवहारले मनमायाको मन भरिएको छ । मनमायालाई समाज र आफन्तका वचन सहेर बाँच्ने बानी परेको छ । तर आफ्नैले लगाउने लान्छना र गर्ने व्यवहारले उहाँलाई पलपल मर्नु पर्छ ।
‘तेरो बुढाले त अर्कै ल्याउँछ, तँ पनि पोइला जा, किन बस्छेस भन्छन् । छोराछोरी छाडेर म कहाँ जाउ ?’ मनमायाको प्रश्नको जवाफ कसैसँग छैन् । जाने ठाउँ नभएपनि आफ्नाले वचन लगाउन छाड्दैनन । ‘भूकम्पले घर भत्काएको छ, बाँसको टहराबाट कहिले निकाल्छन् थाहा छैन । तर म जाने कहाँ ?’ मनमायासँग यस्ता धेरै प्रश्न छन् ।
गाँस र बासको अभावमा बाँचेपनि मनमायाको आँट ठूलो छ । छोराछोरी पढाउने, ऋण तिर्ने र आफ्नै ठाउँमा गरिखाने उहाँको चाहना छ । तर श्रीमानको ऋणले उहाँलाई न गरिखानु न त मरिजानु बनाएको छ । मनमायाले श्रीमानको साथ त पाउनु भएको छैन नै, अर्कातिर ऋणले शान्तिसँग बस्न दिएको छैन । दिनमा दुईचार सय कमाएर खाने कि ऋण तिर्ने ?
परदेशको रमझममा भुलेका श्रीमानलाई मनमायाको दुःखको वास्ता छैन् । छोराछोरीका उज्वल भविष्यका लागि परदेशिएका रामकुमार कै कारण मनमाया र छोराछोरीको भविष्य अन्यौलमा परेको छ ।
Monday, June 5, 2017
विदेश गएका श्रीमानले माया मारे पनि मेरी छोरीलाई प्रधानमन्त्री बनाउँछु
Nepali Music Video
We Publice Nepali News for the People.
Story

